चितवन खबर पोष्ट

माडीमा “मौलिक संस्कृति उत्सव २०८३” आयोजना हुने, झाँकी, लोकनृत्य र फुड फेस्टिभल आकर्षण

०९ जेष्ठ, माडी । गणतन्त्र दिवसको अवसर पारी माडीको बसन्तपुरमा “माडी मौलिक संस्कृति उत्सव २०८३” आयोजना हुने भएको छ । माडी नगर प्रज्ञा प्रतिष्ठानको आयोजनामा आउँदो जेष्ठ १५ गते बसन्तपुरस्थित खुला चौरमा सो कार्यक्रम हुने भएको हो ।

उत्सवमा थारु, बोटे, दुरा, मगर, गन्धर्व लगायतका विभिन्न जातजातिको मौलिक झाँकी प्रदर्शनी गरिने नगर प्रज्ञा प्रतिष्ठानका अध्यक्ष नारायण सापकोटाले बताउनुभयो । उत्सवमा भजनकीर्तन र पञ्चेबाजाको सांस्कृतिक कार्यक्रम तथा परम्परागत लोकनृत्य समेत रहने र स्थानीय होटल व्यवसायीहरूको सहकार्यमा साँझ फुड फेस्टिभल समेत आयोजना गरिने उहाँले बताउनुभयो ।

उत्सव व्यवस्थापनका लागि शनिवार माडी नगरपालिकामा सञ्चालित प्रज्ञा प्रतिष्ठानको बैठकबाट विभिन्न उपसमितिहरु गठन भएका छन् । त्यसमध्ये प्रचार–प्रसार उपसमिति संयोजकमा विपिन पाठक, झाँकी व्यवस्थापन संयोजकमा चन्द्रमणी महतो, फुड फेस्टिभल संयोजकमा श्याम दुरा, आतिथ्य स्वागत एवं निमन्त्रणा संयोजकमा प्रवीण भण्डारी, मञ्च तथा साउण्ड व्यवस्थापनमा आभाष दुवे र प्रेम बिष्ट लगायत रहनुभएको छ ।

उत्सवले माडी क्षेत्रको मौलिक कला, संस्कृति र खानपानलाई प्रवद्र्धन गर्दै स्थानीय पर्यटन विकासमा टेवा पुग्ने विश्वास गरिएको छ ।

तपाईको प्रतिक्रिया