१० जेष्ठ, माडी । बागमती प्रदेश सरकारबाट नमुना विद्यालय घोषित माडी–८, खरकट्टास्थित जनजीवन माध्यमिक विद्यालयले शिक्षक, अभिभावक तथा विद्यार्थी लक्षित उत्प्रेरणा कार्यक्रम सञ्चालन गरेको छ ।
विद्यालयले प्रशिक्षक एवं मोटिभेटर ईश्वर श्रेष्ठको प्रमुख प्रशिक्षणमा सो कार्यक्रम सञ्चालन गरेको हो । आइतबार (आज) बिहान विद्यार्थी र दिउँसो शिक्षकहरुलाई उत्प्रेरित गरिएको र सोमबार (भोलि) अभिभावक उत्प्रेरणाको कार्यक्रम रहेको विद्यालयका शिक्षक रामप्रसाद भण्डारीले बताउनुभयो ।
उत्प्रेरणा कार्यक्रममा शिक्षकहरुको पेशागत विकास, अभिभावकको भूमिका तथा विद्यार्थीहरुको शैक्षिक विकास, अनुशासन एवं अध्ययनप्रतिको प्रेरणाका विषयमा विशेष प्रशिक्षण दिइने शिक्षक भण्डारीले जनाउनुभयो ।

कार्यक्रमको उद्घाटन गर्नुहुँदै माडी नगरप्रमुख ताराकुमारी काजी महतोले संधै किताब पढ्नुभन्दा अन्य सबैक्षेत्रको ज्ञान लिनु आवश्यक रहेकोमा जोड दिनुभयो । कार्यक्रमबाट शिक्षक, विद्यार्थी र अभिभावक तीनवटै पक्षमा आउने परिवर्तनले विद्यालयको शैक्षिक विकासमा निकै सहयोग पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।



