१० जेष्ठ, माडी । माडी–८ स्थित माडीकै प्रमुख पर्यटनस्थल बैकुण्ठधाम मा खानेपानीको मुहान सुकेपछि वडा कार्यालयले वैकल्पिक खानेपानीको व्यवस्था गरेको छ । यसअघि बैकुण्ठधाम चौरमा वितरण हुँदै आएको खानेपानीको मुहान सुक्दा त्यहाँ पुग्ने पर्यटक तथा दर्शनार्थीहरुले पिउने पानीको समस्या भोग्दै आएका थिए ।
समस्या बढ्न थालेपछि वडा नं. ८ का वडाध्यक्ष वीरेन्द्र बहादुर भण्डारीको पहलमा वडा कार्यालयको विपद् व्यवस्थापन शीर्षकबाट बजेट विनियोजन गरी २३० मिटर टाढाको बाह्रघरे बस्तीबाट बैकुण्ठ चौरसम्म पाइप बिछ्याएर वैकल्पिक खानेपानी आपूर्ति सुरु गरिएको हो । वडाध्यक्ष भण्डारीले दैनिक सयौंको संख्यामा आउने पर्यटक तथा दर्शनार्थीहरुलाई पिउने तथा अन्य प्रयोजनका लागि पानीको अभाव हुन नदिन वडा कार्यालय लागेको बताउनुभयो ।




