१२ जेष्ठ, माडी । भरतपुर अस्पतालले नेपाल नेत्रज्योति संघद्वारा सञ्चालित भरतपुर आँखा अस्पताललाई आफ्नो जग्गा, भवन तथा संरचना ३५ दिनभित्र खाली गर्न पत्राचार गरेको छ । अस्पतालले जेठ ७ गते पत्र पठाउँदै निर्धारित म्यादभित्र संरचना खाली गर्न आग्रह गरेको हो । भरतपुर अस्पतालका अनुसार उक्त संरचना सरकारी स्वामित्वको जग्गामा निर्माण भएकाले खाली गर्न भनिएको हो ।
भरतपुर अस्पतालले सरकारी जग्गा दर्ता, उपयोग तथा लिजमा उपलब्ध गराउने सम्बन्धी कार्यनीति–२०७९ अनुसार सम्झौता गर्न यसअघि नै पत्राचार गरिए पनि सम्बन्धित पक्ष सम्पर्कमा नआएको जनाएको छ । सोही कार्यनीतिको दफा २१ अनुसार प्रक्रिया अघि बढाउँदै निर्धारित समयभित्र जग्गा तथा भवन खाली गर्न निर्देशन दिइएको अस्पतालले उल्लेख गरेको छ ।
यता भरतपुर आँखा अस्पतालले भने उक्त जग्गा कुनै लिज सम्झौतामार्फत नभई तत्कालीन मन्त्रिपरिषद्को २०४० माघ ३ गतेको निर्णयअनुसार नेपाल नेत्रज्योति संघलाई प्रदान गरिएको दाबी गरेको छ । आँखा अस्पतालका अध्यक्ष जयराम श्रेष्ठ का अनुसार तत्कालीन सरकारको निर्णय, स्वास्थ्य मन्त्रालयको प्रस्ताव, अर्थ मन्त्रालयको सहमति तथा सम्बन्धित निकायहरूको प्रमाणका आधारमा करिब ४ बिघा जग्गा आँखा अस्पताल सञ्चालनका लागि उपलब्ध गराइएको हो ।




