माडी (स्थानीय) खबर पोष्ट

माडीमा प्लास्टिक सामग्रीमा कडाइ: जेष्ठ २० पछि पूर्ण प्रतिबन्ध, उल्लंघनमा कारबाही

१२ जेष्ठ, माडी । प्लास्टिकजन्य सामग्रीको बिक्री, वितरण, आयात तथा भण्डारणमा रोक लगाएको माडी नगरपालिकाले त्यसको कार्यान्वयनमा कडाई गर्ने संकेत गरेको छ । नगरपालिकाले नगर क्षेत्रभरी माइकिङ गर्दै प्लास्टिकबाट निर्मित कप, गिलास, प्लेट, काँटा तथा फूलका बुकेजस्ता सामग्रीको प्रयोग तथा कारोबार नगर्न सूचना गर्ने र १५ दिनको समयसीमापछि अनुगमन एवं कारवाही गर्ने नीति लिएको हो ।

यसअघि, गत जेष्ठ ५ गते नगरपालिकाले वातावरण संरक्षण र नागरिक स्वास्थ्यका लागि भन्दै यसबारे सूचना जारी गरेको थियो । सूचना अनुसार १५ दिन (जेष्ठ २० गते)पछि नगर नगरक्षेत्रभित्र यस्ता सामग्रीको बिक्री–वितरण, आयात र भण्डारण कार्य पूर्ण प्रतिबन्धित रहनेछन् । प्रतिबन्धित सामग्रीको कारोबार भएको पाइएमा कानुन बमोजिम कारबाही गरिने नगरपालिकाको चेतावनी छ ।

हाल मौज्दातमा रहेका प्लास्टिकजन्य सामग्रीहरु जेष्ठ २० गतेभित्र व्यवस्थापन गरिसक्न पालिकाले सम्बन्धित व्यवसायी तथा सरोकारवालालाई पूर्व सूचना गरेको अवस्था छ । तर नागरिकस्तरमा भने यो निर्णयको पूर्ण कार्यान्वयनप्रति शंसय देखिन्छ ।

तपाईको प्रतिक्रिया