१२ जेष्ठ, माडी । आगामी जेठ तेस्रो साता माडीमा ’प्रथम नगरस्तरीय खुल्ला ब्याडमिन्टन प्रतियोगिता-२०८३’ आयोजना हुने भएको छ । ‘खेल खेलौं, स्वस्थ बनौं’ भन्ने नारासहित लिबर्टी यूथ क्लब (माडी-३, इनारबरुवा)को आयोजना र माडी नगरपालिकाको समन्वयमा यो प्रतियोगिता सञ्चालन हुन लागेको हो ।
बघौडा कभर्ड हलमा जेठ २३ र २४ गते दुई दिनसम्म चल्ने यस प्रतियोगितामा ‘ए’ तथा ‘बी’ लेभल मेन्स डबल्स (Men’s Doubles) विधामा प्रतिस्पर्धा गराइने आयोजकले जनाएको छ । नगरस्तरीय प्रतियोगिता भएकाले यसमा सहभागी हुने खेलाडीहरू माडी नगरपालिकाभित्रका स्थानीय बासिन्दा वा नगरभित्रका विभिन्न संघसंस्थामा कार्यरत कर्मचारी हुनुपर्ने प्रावधान राखिएको छ ।
खेलहरू ब्याडमिन्टन एसोसिएसनको आधिकारिक नियम र नीति अनुसार सञ्चालन गरिने जनाइएको छ । प्रतियोगिताका उत्कृष्ट बिजेताहरूलाई आकर्षक नगद पुरस्कार, ट्रफी र प्रमाणपत्र प्रदान गरिने आयोजक लिबर्टी यूथ क्लबले जनाएको छ ।




