माडी (स्थानीय) खबर पोष्ट

माडी–ठोरी सडक स्तरोन्नतिको माग: धुलोरहित र सुरक्षित सडकका लागि ज्ञापनपत्र

१३ जेष्ठ, माडी । भरतपुर–माडी–ठोरी सडक अन्तर्गत चितवन राष्ट्रिय निकुञ्ज सडक खण्डलाई तत्काल धुलोरहित, सुरक्षित र स्तरीय बनाउन माग गर्दै लायन्स क्लब अफ माडी इकोले सरकारलाई ज्ञापनपत्र बुझाएको छ ।

क्लबले चितवन जिल्ला प्रशासन कार्यालयमार्फत कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई बुझाएको ज्ञापनपत्रमा माडी क्षेत्र ऐतिहासिक, सांस्कृतिक तथा सामाजिक रूपमा महत्वपूर्ण भए पनि सडक पूर्वाधारको अभावका कारण स्थानीयवासी दशकौँदेखि सास्ती भोग्दै आएको उल्लेख गरिएको छ ।

संरक्षणको नाममा चितवन राष्ट्रिय निकुञ्ज स्थापना भएयता सडक स्तरोन्नतिका लागि आवश्यक पहल हुन नसकेको क्लबले जनाएको छ । धुलाम्मे र जोखिमपूर्ण सडकका कारण बिरामी, विद्यार्थी, किसान, व्यवसायी तथा सर्वसाधारण प्रत्यक्ष प्रभावित बनेको ज्ञापनपत्रमा उल्लेख छ ।

सडकको कमजोर अवस्थाले कृषि, व्यापार, पर्यटन तथा समग्र आर्थिक गतिविधिमा नकारात्मक असर परेको र सीमावर्ती माडी क्षेत्रबाट बसाइँसराइसमेत बढ्दै गएको क्लबले औंल्याएको छ । क्लबका अध्यक्ष अर्जुन सापकोटा र सचिव प्रविन देवकोटाले बुझाउनुभएको सो ज्ञापनपत्रमार्फत सडक निर्माणका लागि आवश्यक बजेट विनियोजन गर्न तथा कानुनी र नीतिगत अवरोध तत्काल हटाउन सरकारसँग माग गरिएको छ ।

तपाईको प्रतिक्रिया