१४ जेष्ठ, माडी । गणतन्त्र दिवसको अवसरमा माडी प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित ‘माडी मौलिक सांस्कृतिक उत्सव’को तयारीस्वरूप बसन्तपुर बजार क्षेत्रमा विशेष सरसफाई कार्यक्रम गरिएको छ ।
बसन्तपुर बजार व्यवस्थापन समेतको जिम्मेवारी रहेको बसन्तपुर बजार टोल विकास संस्थाको आयोजनामा बिहीबार (आज) बिहान बजार क्षेत्रका सडक, नाली तथा सार्वजनिक स्थानहरुको सामुहिक सरसफाई भएको हो ।
सरसफाई कार्यक्रममा बागमती प्रदेशसभा सदस्य ठाकुर ढकाल, माडी नगरप्रमुख ताराकुमारी काजी महतो, उपप्रमुख खेमप्रसाद महतो, वडाध्यक्षहरु पुरन महतो र गणेश प्रसाद विश्वकर्मा लगायत सशस्त्र र जनपद प्रहरी र बजारबासी नागरिकहरुको सहभागिता रहेको थियो ।

उत्सवमा आउने पाहुनालाई स्वच्छ, सुन्दर र व्यवस्थित वातावरणमा स्वागत गर्ने उद्देश्यले सरसफाई कार्यक्रम सञ्चालन गरिएको टोल विकास संस्थाका अध्यक्ष यमकुमार विश्वकर्माले जनाउनुभयो । कार्यक्रमलाई सफल पार्न सहभागी हुने र सहयोग गर्ने सबैलाई उहाँले धन्यवाद ज्ञापन समेत गर्नुभयो ।



