माडी (स्थानीय) खबर पोष्ट

माडीमा विद्यालयस्तरीय छात्रछात्रा फुटबल प्रतियोगिता सुरु

१६ जेष्ठ, माडी । शिक्षासंगै खेलकूद भन्ने नारासहित माडीमा विद्यालय स्तरीय छात्रछात्रा फुटबल प्रतियोगिता सुरु भएको छ । नगर शिक्षा तथा खेलकूद विकास समिति माडीद्वारा आयोजित सो खेल प्रतियोगिताको शनिवार दिउँसो माडी नगरप्रमुख ताराकुमारी काजी महतोले रेफ्रीलाई बल हस्तान्तरण गरी समुद्घाटन गर्नुभयो ।

बसन्तपुर बजारस्थित माडी माध्यमिक विद्यालयको खेलमैदानमा सञ्चालन सुरु भएको सो प्रतियोगिताको समुद्घाटन खेल जनजीवन माध्यमिक विद्यालय खरकट्टा र दिवाकर स्मृति माध्यमिक विद्यालयबीच भएकोमा ४–२ गोलअन्तरबाट जनजीवन विजयी भएको छ ।

त्यस्तै, दोश्रो खेलमा पिसल्याण्ड ईङ्गलिस स्कुल बसन्तपुर र विद्याज्योति ईङ्गलिस स्कुल बरुवा भिँडेकोमा निर्धारित समयसम्म ०–० गोलको बराबरी भएको थियो । निकै प्रतिस्पर्धासहित टाइब्रेकरमा धकेलिएको सो खेलमा सडन डेथमा ९–८ गोलअन्तरबाट विद्याज्योति विजयी भएको हो ।

प्रतियोगितामा छात्र तथा छात्रा दुवै विधामा प्रथम हुने टिमले १५ हजार रुपैयाँ र उपविजेताले ७ हजार ५ सय रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिताले विद्यार्थीहरूमा खेलप्रतिको रुचि बढाउने, अनुशासन र सहकार्यको भावना विकास गर्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया