चितवन खबर पोष्ट

माडीका पत्रकार दिप्ती विश्वकर्मालाई पूर्वराष्ट्रपति भण्डारीले सम्मान गर्ने

१७ जेष्ठ, माडी । स्वदेश एफ.एम. माडीका स्टेशन म्यानेजर तथा चर्चित पत्रकार दिप्ती विश्वकर्मा राष्ट्रिय दलित पत्रकार महासंघद्वारा स्थापित “विक्रम परियार स्मृति पत्रकारिता पुरस्कार” बाट सम्मानित हुनुहुने भएको छ।

महासंघले दुर्गम क्षेत्रमा रहेर निरन्तर पत्रकारिता गर्दै आउनुभएका विश्वकर्मालाई उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । पुरस्कार सोमबार (भोलि) काठमाडौंको चन्द्रागिरीमा आयोजित विशेष कार्यक्रममा पूर्वराष्ट्रपति विध्यादेवी भण्डारीको हातबाट प्रदान हुनेछ।

पत्रकारितामार्फत समाजका आवाजलाई प्राथमिकता दिँदै ग्रामीण तथा दुर्गम क्षेत्रका मुद्दाहरू उजागर गरेको योगदानको कदरस्वरूप उहाँलाई सम्मान गर्न लागिएको जनाइएको छ। स्वदेश एफ.एम. र माडी क्षेत्रका सञ्चारकर्मीहरूका लागि यो सम्मान र गौरवको विषय बनेको छ।

राष्ट्रिय दलित पत्रकार महासंघका रुकुमपूर्व जिल्ला अध्यक्ष समेत रहनुभएका दिवंगत पत्रकार विक्रम परियारको स्मृतिमा स्थापना गरिएको यो पुरस्कारको पहिलो प्राप्तकर्ता विश्वकर्मा बन्नुभएको हो।

पत्रकार विक्रम परियारको २०८० चैत पहिलो साता बागलुङको निसीखोला गाउँपालिकामा भएको बस दुर्घटनामा निधन भएको थियो। अन्नपूर्ण पोस्ट र रेडियो पूर्वी रुकुममा कार्यरत परियार राष्ट्रिय दलित पत्रकार संघको राष्ट्रिय महाधिवेशनमा सहभागी हुन काठमाडौं जाँदै गर्दा दुर्घटनामा पर्नुभएको थियो।

तपाईको प्रतिक्रिया