१७ जेष्ठ, माडी । नेपाल–भारत सीमासम्बन्धी विषयमा प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा दिएको अभिव्यक्तिप्रति श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले कडा प्रतिक्रिया जनाउनुभएको छ ।
प्रधानमन्त्रीले ‘नेपालले पनि भारतको जग्गा मिचेको रहेछ’ भनेपछि सामाजिक सञ्जालमार्फत साम्पाङले उहाँलाई ‘हुतिहारा’ भन्दै कडा आलोचना गर्नुभएको हो । प्रधानमन्त्रीको सम्बोधनका लागि बोलाइएको बैठकबारे पूर्व जानकारी नभएकाले आफू संसद बैठकमा उपस्थित हुन नसकेको उहाँले उल्लेख गर्नुभएको छ।
यसैबिच, सीमाविद् बुद्धिनारायण श्रेष्ठ नेपालले भारतीय जमिन मिचेको भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिमा कुनै सत्यता नरहेको जिकिर गर्नुभएको छ । ‘प्रधानमन्त्रीले आज संसदमा बोलेको मैले पनि सुनेँ’, श्रेष्ठले भन्नुभयो, ‘नेपालले भारतको जमिन मिचेको र अतिक्रमण गरेको छैन ।’ तराई क्षेत्रमा सीमापार जोतकमोत भएको कुरालाई प्रधानमन्त्रीले त्यसरी बुझ्न नहुने श्रेष्ठको भनाइ छ ।




