१७ जेष्ठ, माडी । प्रधानमन्त्रीको हैसियतमा प्रतिनिधिसभामा पहिलोपटक सांसदहरूको प्रश्नको जवाफ दिन उभिएका प्रधानमन्त्री बालेन्द्र शाहको सम्बोधन विवादको घेरामा परेको छ । विशेषगरी, लिपुलेक र लिम्पियाधुराको विवादबारे प्रश्न उठेपछि प्रधानमन्त्री शाहले ‘भारतले मात्र होइन, नेपालले पनि भारतको जग्गा मिचेको छ’ भनी दिएको अभिव्यक्ति संसद्मा निकै आलोचित बनेको हो ।
आइतबारको बैठकमा नेपाल–भारत सीमा विवाद र छिमेकी राष्ट्र चीनको विकास अवस्थाबारे उहाँले दिनुभएको अभिव्यक्तिहरूलाई लिएर प्रमुख प्रतिपक्षी दललगायत अन्य सांसदहरूले गम्भीर आपत्ति जनाएका हुन् ।
कांग्रेसकी सांसद वासना थापा र एमालेका सांसद रमेश मल्लेसहितका अन्य सांसदहरूले यसलाई ‘गैरजिम्मेवार र राष्ट्रिय हितविपरीत’ को टिप्पणी भन्दै संसद्को रेकर्डबाट हटाउन माग गरेका छन् । बिना कुनै आधार वा आधिकारिक प्रमाण यस्तो गम्भीर दाबी गर्नुले छिमेकी राष्ट्रसँगको कूटनीतिक सम्बन्धमा समेत असर पुग्न सक्ने उनीहरूको चिन्ता छ ।




