१८ जेष्ठ, माडी । माडी क्षेत्रमा इन्टरनेट सेवाको फाइबर तार काटिने तथा चोरी हुने घटना रोकिएको छैन। पछिल्लो पटक माडी नगरपालिका–६ स्थित स्याउलीबास क्षेत्रमा इन्टरनेट सेवा प्रदायक कम्पनी चित्रवन नेटको करिब २० मिटर फाइबर तार काटिएर गायब भएको छ।
कम्पनीका प्राविधिक टोलीका अनुसार गएसाँझ बिजुली अवरूद्ध रहेको समयमा फाइबर तार काटिएर सो क्षेत्रका ग्राहकहरू केही समय इन्टरनेट सेवाबाट प्रभावित भएका थिए। घटनापछि प्राविधिक टोलीले मर्मत तथा पुनः जडानको काम गरी सेवा सञ्चालनमा ल्याएको जनाएको छ।
त्यसैगरी सोही क्षेत्रमा सुविसु नेटको फाइबर तार समेत काटिएको पाइएको छ। तार काटिने र हराउने घटनाले इन्टरनेट सेवा प्रदायक कम्पनीहरूलाई आर्थिक क्षति पुग्नुका साथै सेवाग्राहीहरू समेत प्रत्यक्ष रूपमा प्रभावित हुने गरेका छन्।

स्थानीयवासी तथा सेवा प्रदायक कम्पनीहरूले यस्ता गतिविधि नियन्त्रण गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्। सार्वजनिक सञ्चार तथा इन्टरनेट सेवामा असर पर्ने गरी भइरहेका यस्ता घटनाको छानबिन गरी दोषीमाथि आवश्यक कारबाही गर्न माग गरिएको छ।



