चितवन खबर पोष्ट

चितवन राष्ट्रिय निकुञ्ज सडक बजेट नपरेपछि माडीमा पुनः असन्तुष्टि

१७ जेष्ठ, माडी । संघीय बजेटको बिरोधमा दुई बर्षअघि मसाल जुलुस निकालेको पोष्ट अचानक भाइरल भएसंगै दबाब महसुस गरेको समृद्धिका लागि युवा अभियान, माडीले बजेट सार्वजनिक भएको दुई दिनपछि ‘ध्यानाकर्षण भएको’ भन्दै वक्तव्य निकालेको छ ।

अभियानले सामाजिक सञ्जालमा आइतवार पोष्ट गरेको ध्यानाकर्षण पत्रमा चितवन राष्ट्रिय निकुञ्जभित्रको सडकखण्ड स्तरोन्नतिका लागि आवश्यक बजेट यस वर्ष पनि समावेश नभएकोप्रति गम्भीर असन्तुष्टि व्यक्त गरिएको हो ।

विगतका वर्षहरूमा जस्तै यसपटक पनि उक्त सडकको स्तरोन्नतिका लागि बजेट व्यवस्था हुने आशा माडीवासीले राखे पनि पुरानै अवस्था दोहोरिएको भन्दै अभियानले दुःख र चिन्ता व्यक्त गरेको छ ।

ध्यानाकर्षण पत्रमा आम नागरिकको बलियो जनमत प्राप्त सरकारले कानुनी तथा नीतिगत जटिलताहरू समाधान गर्दै यस वर्ष बजेटमार्फत माग सम्बोधन गर्ने अपेक्षा गरिए पनि त्यो पूरा हुन नसकेको उल्लेख गरिएको छ । यसले माडीवासीलाई निराश र आक्रोशित बनाएको अभियानको भनाइ छ ।

अभियानले सरकारसँग आगामी रातो किताबमा चितवन राष्ट्रिय निकुञ्जभित्रको सडक, रिउ करिडोर लगायत माडीका गौरवका आयोजनाहरूका लागि आवश्यक बजेट यथाशीघ्र समावेश गर्न माग गरेको छ ।

माग सम्बोधन नभए सम्पूर्ण माडीवासी अधिकार प्राप्तिका लागि निर्णायक र सशक्त आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी दिँदै त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवारी सरकार स्वयंले वहन गर्नुपर्ने अभियानले जनाएको छ ।

यसअघि, प्रचण्ड नेतृत्वको तात्कालीन सरकारले (आर्थिक बर्ष २०८१/८२ को) बजेटमा चितवन राष्ट्रिय निकुञ्जभित्रको धुलोरहित सडक निर्माण योजजा नसमेटिएकोमा बिमत्ती जनाउँदै अभियान सम्मिलित माडी संघर्ष समितिले मसाल जुलुस प्रदर्शन गरी बजेटको बिरोध गरेको थियो ।

तपाईको प्रतिक्रिया