१८ जेष्ठ, चितवन । माडी नगरपालिका-३, बोटे सिमरा क्षेत्रमा गैँडाको आक्रमणबाट एक युवक गम्भीर घाइते भएका छन् । सोमबार (आज) दिउँसो करिब १२:३० बजे चितवन राष्ट्रिय निकुञ्ज नजिक बाख्रा चराउन गएका माडी–३ सिमरा निवासी १९ वर्षीय सरोज महतोमाथि गैँडाले आक्रमण गरेको हो ।
आक्रमणबाट महतोको घाँटी, छाती तथा खुट्टामा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ । घाइते महतोलाई तत्काल बघौडा अस्पताल माडीमा ल्याई प्राथमिक उपचार गरिएको थियो । अवस्था गम्भीर रहेकाले थप उपचारका लागि भरतपुरको स्वास्थ्य संस्थामा रिफर गरिएको छ ।
चितवन राष्ट्रिय निकुञ्ज आसपासका बस्तीमा जंगली जनावरको आवतजावत बढ्दै जाँदा स्थानीयवासी जोखिममा पर्ने गरेका छन् । निकुञ्ज क्षेत्र नजिक पशु चौपाया चराउन तथा वन क्षेत्रमा जाँदा जंगली जनावरबाट आक्रमण हुने र हताहती वा घाइते हुने क्रम बढेको छ । (फोटो: कृत्रिम बाैद्धिकताबाट सिर्जित । इन्सेटमा घाइतेको वास्तविक तस्वीर)




