माडी–ठोरी सडकखण्ड अन्तर्गत चितवनको माडी नगरपालिका–९ रातोमाटे डाँडा क्षेत्रमा बाघसँग मोटरसाइकल ठोक्किँदा एक जना घाइते भएका छन्।
प्रहरीका अनुसार बिहीबार राति करिब ८ बजे माडीबाट ठोरीतर्फ जाँदै गरेको बागमती प्रदेश ००२ प ६८६३ नम्बरको मोटरसाइकल अचानक सडकमा आएको बाघसँग ठोक्किएको थियो। दुर्घटनामा मोटरसाइकल चालक पर्साको ठोरी गाउँपालिका–१ निवासी करिब ४० वर्षीय अजित कुँवर घाइते भएका हुन्।
दुर्घटनामा कुँवरको बायाँ पाखुरा र टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ। घाइतेलाई उपचारका लागि ठोरीस्थित स्वास्थ्य चौकी चोकबजार लगिएकोमा थप उपचारका लागि बीरगञ्ज पठाइएको छ। बाघसंग मोटरसाइकल ठोक्किसंगै गुहार मागेका उनलाइ ठोरीको अमुवा पोष्टका सेनाले उद्धार गरेका थिए ।

ठोरीबाट काठमाडाैं चल्ने रात्रीबस छुटेसंगै मोटरसाइकलमा गइ बस चढाएर फर्किने क्रममा सो दुर्घटना भएको घाइतेका भतिज सागर कुँवरले जनाउनुभयो । (फोटो: कृत्रिम बाैद्धिकताबाट सूचना प्रयोजनका निम्ति सिर्जित)



