चितवन खबर पोष्ट

माडी क्षेत्रमा ट्राफिक प्रहरीद्वारा मादक पदार्थ सेवन चेकजाँचमा कडाई

२२ जेष्ठ, चितवन । साँझपख र रातीको समयमा सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले माडी क्षेत्रमा ट्राफिक प्रहरीले मादक पदार्थ सेवन (मापसे) चेकजाँचमा कडाइ गर्न थालेको छ ।

इलाका प्रहरी कार्यालय बसन्तपुरका प्रहरी र माडीमा खटिएका ट्राफिक प्रहरीले माडीका विभिन्न स्थानमा सवारी चेकजाँचलाई तीव्र बनाउँदै मोटरसाइकल, अटो र अन्य सवारी चालकहरूको मापसे परीक्षण गरिरहेको जनाएको हो ।

रातको समयमा मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउँदा हुनसक्ने दुर्घटना रोकथामका लागि विशेष निगरानी बढाइएको इलाका प्रहरी कार्यालय माडीका प्रमुख किरण राईले बताउनुभयो ।

मुख्य सडक तथा बजार क्षेत्रका विभिन्न बिन्दुमा दिन र रात दुवै समयमा चेकजाँच भइरहेको र मापसे गरेर सवारी चलाउने चालकलाई कानुनअनुसार कारबाही गरिनुका साथै सडक सुरक्षाबारे सचेतना समेत प्रदान गरिएको ट्राफिक प्रहरीका सहायक हवल्दार खडक बहादुर बिष्टले जनाउनुभयो ।

प्रहरीले नागरिकलाई मादक पदार्थ सेवन नगरी सवारी चलाउन, ट्राफिक नियमको पालना गर्न तथा सुरक्षित यात्रालाई प्राथमिकता दिन आग्रह गरेको छ । “हाम्रो उद्देश्य कारबाही मात्र होइन, दुर्घटना हुन नदिनु र चालकमा जिम्मेवारीको भावना विकास गर्नु पनि हो,” प्रहरीको भनाइ छ ।

तपाईको प्रतिक्रिया