चितवन खबर पोष्ट

निकुञ्ज सडकका लागि संघीय सरकारबाट ९ करोड बजेट सुनिश्चित

२२ जेष्ठ, चितवन । संघीय सरकारको पूर्वाधार विकास मन्त्रालयबाट बहुप्रतीक्षित निकुञ्ज सडकका लागि ९ करोड रुपैंया बजेट विनियोजन हुने निश्चित भएको छ ।मन्त्रालयले तयार गरिरहेको रातो किताबमा ‘भरतपुर माडी जोड्ने सडकका’ लागि ९ करोड रुपैंया बजेट सुनिश्चित गरिएको चितवन–३ का प्रतिनिधिसभा सदस्य एवं संघीय कानुन मन्त्री सोविता गौतमको सचिवालयले पुष्टी गरेको हो ।

हाल वातावरणीय प्रभाव मुल्यांकनको काम पूर्ण नभएकाले पहिले इआईएको प्रक्रिया पुरा गर्ने र त्यसपछि रातो किताबमा सुनिश्चित गरिएको बजेटबाट कालोपत्रे सडक निर्माण गरिने सचिवालयले जनाएको छ ।

मन्त्रालयले रातो किताब तयार गरिरहेको (र केहि समयपछि प्रकाशन हुने हालको) अवस्थामा मन्त्री गौतमले निकुञ्जभित्र सडक निर्माण सहित माडी र चितवन क्षेत्र नं. ३ का अन्य विभिन्न योजनाहरुलाई प्राथमिकताका साथ ध्यान दिइरहनुभएको जनाइएको छ ।

यसैबिच, संघीय मन्त्रालयले नै निकुञ्जभित्र सडक निर्माणलाई बजेटमा समेट्ने भएसंगै माडी नगरपालिकाले नगर कार्यपालिका र वडा कार्यालयहरुबाट कटौती गरी मोजाइक टायलका लागि विनियोजन गरेको बजेट उपयोगहीन हुने भएको छ । त्यस्तै माडीबासी नागरिकहरुमा मोजाइक टायलको सट्टा कालोपत्रे सडक नै निर्माण हुने आशा पनि बढेको छ ।

तपाईको प्रतिक्रिया