चितवन खबर पोष्ट

नारी अभ्युदय केन्द्रको ३६औँ स्थापना दिवसको अवसरमा सञ्चालन गरिएको सप्ताहव्यापी कार्यक्रमसम्पन्न

भरतपुर । नारी अभ्युदय केन्द्रको ३६औँ स्थापना दिवसको अवसरमा सञ्चालन गरिएको सप्ताहव्यापी कार्यक्रमअन्तर्गत छैटौँ कार्यक्रम बुधबार सम्पन्न भएको छ। भरतपुर–१ स्थित संस्थाको सभाहलमा आयोजित दीप प्रज्वलन, छात्रवृत्ति वितरण, पुरस्कार वितरण तथा सदस्य सम्मान कार्यक्रम संस्थाकी अध्यक्ष विष्णु रायमाझीको अध्यक्षतामा भव्य एवं सभ्य रूपमा सम्पन्न भएको हो। कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष तथा संरक्षक कस्तुरी श्रेष्ठ प्रमुख अतिथि रहनुभएको थियो भने संस्थापक सदस्य श्यामकली पिया विशिष्ट अतिथिका रूपमा उपस्थित रहनुभएको थियो।

साथै सल्लाहकारहरू बद्री अधिकारी, निरञ्जन प्रधान र पूर्णिमा जोशी, पूर्वअध्यक्षहरू, निवर्तमान अध्यक्ष, विभिन्न विद्यालयका शिक्षक प्रतिनिधि, सदस्य तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। स्थापना दिवसको अवसरमा ३६ वटा दीप प्रज्वलन गरी केक काटेर स्थापना दिवस मनाइएको थियो। कार्यक्रममा विभिन्न विद्यालयका १३ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको थियो। त्यसैगरी अन्तरविद्यालयीय लाइभ पेन्सिल आर्ट्स प्रतियोगितामा उत्कृष्ट स्थान हासिल गरेका ९ जना विद्यार्थीलाई पुरस्कार वितरण गरिएको थियो।

साथै संस्थाका दुई जना सदस्यलाई उनीहरूको योगदान र कार्यसम्पादनको मूल्याङ्कनका आधारमा सम्मान तथा पुरस्कृत गरिएको थियो। कार्यक्रम सफल बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने व्यवस्थापन समिति, सदस्य मूल्याङ्कन समिति, विभिन्न कार्यक्रमका संयोजक, आर्थिक तथा भौतिक सहयोग प्रदान गर्ने सहयोगीदाता तथा प्रत्यक्ष रूपमा उपस्थित भई योगदान पुर्‍याउने सम्पूर्ण सदस्यहरूप्रति संस्थाले हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेको छ।

तपाईको प्रतिक्रिया