चितवन खबर पोष्ट

डा. भोजराज अधिकारी राजनीतिक सक्रियताबाट अलग हुने घोषणा

२२ जेष्ठ, चितवन । नेकपा नेता तथा विगतमा चितवन क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्यका प्रत्यासी रहनुभएका डा. भोजराज अधिकारीले राजनीतिक सक्रियताबाट अलग हुने घोषणा गर्नुभएको छ।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उहाँले पेशागत क्षेत्रमा हासिल गरेको दक्षता, अनुभव र योगदानलाई अझ प्रभावकारी रूपमा समाजसेवामा केन्द्रित गर्ने उद्देश्यले राजनीतिक आबद्धतामा निष्क्रिय रहने निर्णय गरेको बताउनुभएको हो।

उहाँले आफ्नो राजनीतिक यात्राबाट प्राप्त ज्ञान, अनुभव, दर्शन र भूमिकाप्रति सम्मान व्यक्त गर्दै इतिहासबाट सिक्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ। समकालीन समाजको अग्रगामी सोच र प्रशिक्षणबाट आफू हुर्किएको उल्लेख गर्दै त्यस कालखण्डप्रति सम्मान रहेको पनि उहाँले बताउनुभएको छ।

डा. अधिकारीले वर्तमान समय विभिन्न विचारधारा वा ‘वाद’हरूको प्रतिस्पर्धाभन्दा विकासमुखी सोच र कार्यसम्पादनको प्रतिस्पर्धामा केन्द्रित भएको धारणा राख्नुभएको छ। आगामी दिनमा पेशागत कर्मसँगै समाजसेवाका विविध आयाममार्फत सचेत नागरिकका रूपमा समाजमा योगदान जारी राख्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

— — —

तपाईको प्रतिक्रिया