२२ जेष्ठ, चितवन । माडी–६ कल्याणपुरस्थित जनकल्याण माध्यमिक विद्यालयमा समाजसेवी स्वर्गीय रामचन्द्र सुवेदीको स्मृतिमा रु. १ लाख १ हजार १ सय ११ रुपैयाँको अक्षयकोष स्थापना गरिएको छ।
शुक्रबार आयोजित कार्यक्रममा स्वर्गीय सुवेदीकी धर्मपत्नी राधिका सुवेदी तथा छोराहरू यमनाथ सुवेदी, कृष्णप्रसाद सुवेदी, शिवप्रसाद सुवेदी र नारायणप्रसाद सुवेदीले विद्यालयका प्रधानाध्यापक रामबहादुर जी.सी.लाई अक्षयकोष बराबरको रकमको चेक हस्तान्तरण गर्नुभएको हो।
“रामचन्द्र सुवेदी (बाँदरमुढे घटना–२०६२) स्मृति अक्षयकोष २०८३” नामकरण गरिएको उक्त कोषमा रु. १,०१,१११ जम्मा गरिएको छ। कोषबाट प्राप्त हुने ब्याज रकम विद्यालयका विद्यार्थीहरूको शैक्षिक हित तथा प्रोत्साहनका कार्यक्रमहरूमा उपयोग गरिने अपेक्षा गरिएको विद्यालयले जनाएको छ।

अक्षयकोष स्थापना गर्ने परिवारका जेष्ठ पुत्र यमनाथ सुवेदी हाल जनकल्याण माध्यमिक विद्यालयमा सहायक प्रधानाध्यापकका रूपमा कार्यरत हुनुहुन्छ।विद्यालय परिवारले सुवेदी परिवारको यस योगदानप्रति आभार व्यक्त गर्दै कोषले विद्यालयको शैक्षिक विकासमा सकारात्मक टेवा पुग्ने विश्वास व्यक्त गरेको छ।



