२४ जेष्ठ, चितवन — माडी नगरपालिका-३ स्थित ईनारबरुवा टोल विकास संस्थाको आयोजनामा शनिवार बिहान गाउँटोल क्षेत्रको सामुहिक सरसफाई गरिएको छ ।
१६० जना टोलपरिवार रहेकोमा १५८ परिवारको सहभागितामा सरसफाई कार्यक्रम गरिएको टोल विकास संस्थाका अध्यक्ष हरिकृष्ण चौधरीले बताउनुभयो । टोल विकास संस्थाकै आह्वानमा आगामी साता मगोई कुलोको सरसफाई गर्न लागिएको उहाँले बताउनुभयो ।
पछिल्लो समय माडीमा व्यवस्थित र पुनर्गठित टोल विकास संस्थाहरु टोल क्षेत्रको विकास निर्माण, सरसफाई, वातावरण संरक्षण र सामाजिक परिचालनमा प्रभावी देखिन थालेका छन् । टोलवासीहरूबीच आपसी मेलमिलाप, भाइचारा र सहयोगको भावना अभिवृद्धि गर्न पनि यस्ता संस्थाहरु सक्रिय हुनथालेको देखिएको हो ।




