२४ जेष्ठ, चितवन — लिबर्टी युवा क्लब, माडी-३, इनारबरुवाको आयोजनामा माडी नगरस्तरीय ब्याडमिन्टन प्रतियोगिता सञ्चालन सुरु भएको छ । अम्पायर निशान पंगेनीलाई सटल कक हस्तान्तरण गर्दै माडी नगर प्रमुख ताराकुमारी काजी महतोले प्रतियोगिताको उद्घाटन गर्नुभएको हो।
प्रतियोगितामा खेलाडीहरूलाई लेभल ‘ए’ र लेभल ‘बी’ गरी दुई समूहमा विभाजन गरेर प्रतिस्पर्धा गराइएको छ। लेभल ‘ए’ तर्फ किरण राई–योगेन्द्र बिक (इलाका प्रहरी कार्यालय) तथा बिरु चौधरी–बिबेक चौधरीको जोडी फाइनलमा प्रवेश गरेका छन्।
त्यसैगरी, लेभल ‘बी’ तर्फ गौरव मोक्तान–ईश्वर रिजालको जोडी फाइनलमा पुगिसकेको छ। उक्त समूहको अर्को सेमिफाइनल खेल तथा फाइनल खेल शनिबार बिहान ६:३० बजेबाट सञ्चालन हुने कार्यक्रम रहेको छ। प्रतियोगितामा माडी नगरभित्रका विभिन्न क्षेत्रबाट २२ टोलीको सहभागिता रहेको आयोजकले जनाएको छ।




