२४ जेष्ठ, चितवन — लिबर्टी युवा क्लब, माडी–३, इनारबरुवाको आयोजनामा सञ्चालित माडी नगरस्तरीय ब्याडमिन्टन प्रतियोगिताको लेभल ‘ए’ तर्फ किरण राई र योगेन्द्र विश्वकर्माको जोडी प्रथम भएको छ ।
आइतबार बिहान सम्पन्न फाइनल खेलमा ईलाका प्रहरी कार्यालय माडीका किरण राई र योगेन्द्र विश्वकर्माको जोडीले बिरु चौधरी र विवेश चौधरीको जोडीलाई पराजित गर्दै उपाधि जितेको हो । उक्त विधामा सन्देश बराल र विश्वनाथ महतोको जोडी तृतीय स्थान हासिल गर्न सफल भयो ।
त्यसैगरी, लेभल ‘बी’ तर्फ अक्ष महतो र अभ्यास महतोको जोडी प्रथम भएको छ । ईश्वर रिजाल र गौरव मोक्तानको जोडी द्वितीय तथा जितेन्द्र महतो र संजय महतोको जोडी तृतीय स्थानमा रह्यो ।

प्रतियोगितामा आयुष महतो ‘इमर्जिङ प्लेयर’ तथा रामलाल महतो ‘भेट्रान प्लेयर’ घोषित भएका छन् । प्रतियोगितामा माडी नगरभित्रका विभिन्न क्षेत्रबाट २२ टोलीको सहभागिता रहेको आयोजकले जनाएको छ।
विजेता तथा उपविजेता खेलाडीहरूलाई माडी नगरपालिकाकी नगरप्रमुख ताराकुमारी काजी महतो र माडी ब्याडमिन्टन संघका अध्यक्ष अशोक कार्कीले पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभएको थियो ।



