माडी (स्थानीय) खबर पोष्ट

माडीमा युवाका लागि दुईदिने मानसिक स्वास्थ्य प्रशिक्षण सम्पन्न

२४ जेष्ठ, चितवन — माडीका युवाहरूमा मानसिक स्वास्थ्य प्रवर्द्धन गर्ने उद्देश्यले दुईदिने प्रशिक्षण कार्यक्रम सञ्चालन भएको छ। नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत राष्ट्रिय युवा परिषद् र स्वास्थ्यकर्मी युवा सञ्जालको सहकार्यमा जेठ २३ र २४ गते माडी क्याम्पसमा सो कार्यक्रम सञ्चालन भएको हो।

कार्यक्रममा मानसिक स्वास्थ्यको आधारभूत परिचय, युवावस्थामा देखिने मानसिक स्वास्थ्य समस्या, मनोवैज्ञानिक प्राथमिक उपचार, भावनात्मक बुद्धिमत्ता, आत्म–हेरचाह (सेल्फ केयर), आत्महत्या तथा आत्महत्या रोकथाम, तनाव व्यवस्थापन लगायतका विषयमा प्रशिक्षण दिइएको आयोजकले जनाएको छ।

माडी नगरपालिकाकी प्रमुख तारा कुमारी काजी महतोको प्रमुख आतिथ्य र स्वास्थ्यकर्मी युवा सञ्जालकी अध्यक्ष अस्मिता पाठकको अध्यक्षातामा सम्पन्न सो कार्यक्रममा माडी नगरपालिकाका विभिन्न वडाबाट प्रतिनिधित्व गर्दै ३० जना युवाहरू सहभागी भएका थिए। सहभागीहरूले प्रशिक्षण ज्ञानवर्द्धक, उपयोगी तथा व्यवहारिक रहेको प्रतिक्रिया दिएका छन्।

तपाईको प्रतिक्रिया