२४ जेष्ठ, चितवन — माडी मेयर कप विद्यालयस्तरीय फुटबल प्रतियोगिता-२०८३ को छात्रातर्फ दिवाकर स्मृति माध्यमिक विद्यालय, माडी-५ प्रथम भएको छ । आइतबार साँझपख सम्पन्न फाइनल स्पर्धामा जनजीवन माध्यमिक विद्यालय, माडी-८, खरकट्टालाई २-० गोलअन्तरबाट उपविजेता बनाउँदै दिवाकर स्मृतिले च्याम्पीयन ट्रफी उचालेको हो ।
दिवाकर स्मृतिका लागि जस्मिन महतो र सरिस्का चापागाईंले एक एक गोल गर्नुभयो । खेलमा दिवाकर स्मृतिका जस्मिन महतो म्यान अफ द म्याच घोषित हुनुभयो । यसअघि सेमीफाइनल चरणमा दिवाकर स्मृतिले बालविकास इङ्गिलस स्कुललाई र जनजीवन मा.वि.ले माडी मा.वि.लाई पराजित गरेको थियो ।
छात्रातर्फको खेलमा नवप्रतिभाशाली खेलाडी – सखु मगर, बेष्ट गोलकिपर – प्रतीक्षा बि.क. (दिवाकर स्मृति), बेष्ट मिडफिल्डर – सरिस्का चापागाइ (दिवाकर स्मृति), बेष्ट डिफेन्स – विविशा चाैधरी, सर्बोत्कृष्ट खेलाडी – जस्मिन महतो (दिवाकर स्मृति) र सर्बाधिक गोलकर्ता सहारा क्षेत्री (दिवाकर स्मृति) घोषित हुनुभयो ।




