कृषि र कृषक पोष्ट

समर्थन मूल्य कागजमै सीमित, चितवनका चैते धान किसान मर्कामा

चितवन, २५ जेठ ०८३ — सरकारले चैते धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल २ हजार ८ सय ५६ रुपैयाँ ४९ पैसा तोके पनि माडीसहित चितवनका किसानले भने उक्त मूल्य पाउन सकेका छैनन्। बजारमा किसानले प्रतिक्विन्टल १ हजार ५ सयदेखि १ हजार ८ सय रुपैयाँसम्ममा धान बिक्री गर्न बाध्य भएको बताएका छन्।

उत्पादन लागत बढ्दै गए पनि धानको मूल्य नपाउँदा किसान दोहोरो मारमा परेको एक किसानले बताए। कृषि सामग्री, मजदुरी र ट्याक्टर भाडा महँगिँदै गएको अवस्थामा कम्तीमा ३ हजार रुपैयाँ प्रतिक्विन्टल मूल्य भए राहत हुने अवस्था रहेको तर चितवनमा त्यस्तो व्यवस्था नदेखिएको किसानको गुनासो छ।

कृषि विकास कार्यालय चितवनका प्रमुख झलकनाथ कँडेल ले सरकारले तोकेको समर्थन मूल्य व्यवहारमा कार्यान्वयन हुन नसकेको स्वीकार गर्दै किसानले उचित मूल्य पाउन बजार व्यवस्थापन र सरकारी खरिद प्रणाली प्रभावकारी बनाउनुपर्ने बताउनुभयो।

सिंचाइको प्रवन्ध राम्रो हुँदैजाँदा माडी क्षेत्रमा समेत ठूलो क्षेत्रफलमा चैतेधान खेती हुनथालेको छ । माडीमा चैतेधान पकेट कार्यक्रम समेत सञ्चालन हुनेगरेको छ । यस्तोमा, सरकारले गत चैतमै चैते धानको समर्थन मूल्य निर्धारण गरे पनि खरिद सुनिश्चित गर्ने संयन्त्र अभावका कारण किसानहरूले तोकिएको मूल्यको लाभ पाउन नसकेकोले निराशा व्यक्त गरेका हुन् ।

तपाईको प्रतिक्रिया