कृषि र कृषक पोष्ट

कृषिप्रधान माडी नगरमा ट्रयाक्टर भाडादरमा ३३ प्रतिशतसम्म वृद्धि, किसानको विरोध

चितवन, २५ जेठ ०८३ — माडी नगरपालिकाले ट्रयाक्टर व्यवसायीहरूको मागअनुसार ट्रयाक्टर तथा कृषि यन्त्रको भाडादर बढाएको भन्दै किसानहरूले विरोध जनाएका छन्। किसानहरूले नगरपालिकाले व्यवसायीहरूको पक्षमा निर्णय गर्दै भाडादर वृद्धि गर्नुका साथै बाहिरबाट आउने सस्तो सेवाप्रदायकलाई रोक्न सिन्डिकेट लागू गर्न सघाएको उनीहरूको भनाइ छ।

नगरपालिकाले यसअघि २०८१ साउन १ गते निर्धारण गरेको भाडादरअनुसार हाइरो वा कल्टीले जोत्दा प्रतिमिनेट ३० रुपैयाँका दरले प्रतिघण्टा १ हजार ८ सय रुपैयाँ शुल्क तोकेको थियो। हाल भने कल्टी वा हाइरोले जोत्दा तथा थ्रेसर प्रयोग गर्दा प्रतिघण्टा २ हजार ४ सय रुपैयाँ कायम गरिएको छ, जुन साविकको दरभन्दा करिब ३३ प्रतिशत बढी हो।

त्यस्तै, रोटाभेटरले जोत्दा प्रतिमिनेट ३५ रुपैयाँका दरले प्रतिघण्टा २ हजार १ सय रुपैयाँ भाडादर तोकिएकोमा अहिले २ हजार ७ सय रुपैयाँ पुर्‍याइएको छ। यो साविकको मूल्यभन्दा करिब २९ प्रतिशत बढी हो।

शुक्रबार नगर कार्यपालिकाको सभाहलमा भाडादर निर्धारण समितिका संयोजक तथा नगर उपप्रमुख खेमप्रसाद महतोको अध्यक्षतामा ट्रयाक्टर व्यवसायी र किसान प्रतिनिधिबीच भाडादरसम्बन्धी छलफल भएको थियो।

छलफलमा ट्रयाक्टर व्यवसायीहरूले डिजेलको मूल्य वृद्धि, किसानहरूले उधारोमा सेवा लिएर समयमै भुक्तानी नगर्ने प्रवृत्ति, मर्मत सम्भार तथा पार्टपुर्जाको लागत बढेको लगायतका कारण भाडादर समायोजन आवश्यक भएको बताएका थिए।

यता किसान प्रतिनिधिहरूले भने माडीमा लागू गरिएको भाडादर छिमेकी पालिका तथा जिल्लाको तुलनामा डेढदेखि दुई गुणासम्म महँगो रहेको, भनेको समयमा सेवा नपाइने गरेको तथा सरकारी अनुदानमा खरिद गरिएका ट्रयाक्टरहरूले समेत कुनै छुट नदिएको गुनासो गरेका थिए।

नगर उपप्रमुख महतोले ट्रयाक्टर व्यवसायीहरूले हाल प्रतिघण्टा करिब ३ हजार रुपैयाँसम्म शुल्क लिँदै आएको र त्यसको तुलनामा नगरपालिकाले ३ सय रुपैयाँ कम दर निर्धारण गरेको बताउनुभयो। स्मरण रहोस, ट्रयाक्टर व्यवसायीहरुले नगरपालिकाद्वारा निर्धारित भाडादर उल्लंघन गरी महंगो शुल्क लिइआएको चौतर्फी गुनासो रहिआएको छ ।

किसान प्रतिनिधि गंगाबहादुर अधिकारीले भने बैठकमा किसान पक्षको माग र सुझावलाई बेवास्ता गर्दै ट्रयाक्टर व्यवसायीहरूको मागअनुसार मात्रै भाडादर वृद्धि गरिएको आरोप लगाउनुभयो। साथै, बाहिरबाट सस्तो दरमा सेवा दिन आउने ट्रयाक्टरलाई रोक्ने निर्णय गरेर नगरपालिकाले नै सिन्डिकेट प्रणालीलाई प्रोत्साहन गरेको उहाँको दाबी छ।

अर्का किसान चन्द्रकान्त अधिकारीले मल, बीउ, मजदुरी र कृषि यन्त्रको भाडा सबै महँगिँदै गएको अवस्थामा खेतीपाती गर्न कठिन बन्दै गएको बताउनुभयो। उहाँले ट्रयाक्टर भाडादर पुनरावलोकन गरी घटाउन, वा त्यसो गर्न नसके किसानलाई भाडादरमा अनुदान उपलब्ध गराएर भएपनि राहत दिन नगरपालिकासँग माग गर्नुभयो।

तपाईको प्रतिक्रिया