चितवन, २५ जेठ ०८३ — माडीको लक्ष्मीनिवासस्थित मनमोहन बालग्रामका सबैजसो कोठाहरुमा पंखा जडान गरिएको छ । माडी नगरपालिकाले आन्तरिक श्रोतबाट बालग्रामका डर्मिटरी, अफिस, रिडिङ रुम र किचन कोठाहरुमा पंखा जडान गरेको हो ।
बालग्राममा संरक्षित अभिभावकविहीन एवं सहयोगापेक्षी बालबालिकाहरुको बसाईं सहजताका लागि बालग्राममा ९ वटा पंखाहरु जडान गरिएको माडी नगरका प्रमुख प्रकासकीय अधिकृत जगत प्रसाद भुसालले बताउनुभयो । यसबाहेक, बालग्रामको व्यवस्थापनका लागि शिक्षकको व्यवस्थापन गर्न लागिएको उहाँले जनाउनुभयो ।
यसअघि, चितवनका प्रमुख जिल्ला अधिकारी (सिडियो) गणेश अर्यालले गत जेष्ठ १० गते बालग्रामको अनुगमन गरी त्यहाँ आश्रित बालबालिकाको बसोबास, खानपान, अभिलेख व्यवस्थापन र समग्र संस्थागत सञ्चालनप्रति असन्तोष व्यक्त गर्दै तत्कालै सुधार गर्न निर्देश गर्नुभएको थियो । बालग्रामको अवस्था सुधार्न माडी नगरपालिकाको विशेष भूमिका रहने उहाँले औंल्याउनुभएको थियो ।

करीब ६ बर्षअघि तात्कालीन चितवन राष्ट्रिय निकुञ्ज प्रशासनले कुसुमखोलामा रहेका सुकुम्बासी चेपाङ बस्तीमा आगजनी गर्दै हात्ती लगाइ घर भत्काउँदा घरविहीन हुनपुगेका बालबालिकाहरूको शिक्षाको निरन्तरताका लागि माडी नगरपालिकाले समायोजनपछि खाली भएको लक्ष्मीनिवासस्थित विद्यालय भवनमा राखेको थियो ।
त्यस कार्यका निम्ति नगरपालिकाको अनुरोध र सहयोगमा हेल्पिङ सोसाइटी नेपाल संस्थाले सो बालग्राम व्यवस्थापन गरेको हो । सुरुवातदेखि नै आर्थिक अभावमा परेको सो बालग्रामलाई जन्मदिन वा अन्य सन्दर्भमा माडीबासी नागरिकहरुले सहयोग गरिआएका छन् । हाल, बालग्रामलाई संस्थागत र भौतिक सुधार गर्दै व्यवस्थित रुपमा सञ्चालन गर्नुपर्ने आवश्यकता देखिएको छ ।



