चितवन, २५ जेठ ०८३ — प्लास्टिकजन्य सामग्रीको बिक्री, वितरण, आयात तथा भण्डारणमा रोक लगाएको माडी नगरपालिकाले त्यसको कार्यान्वयन सुरु गर्दै नगरस्तरीय बजार अनुगमन टोलीमार्फत बजार अनुगमन थालेको छ ।
यसै क्रममा सोमबार बसन्तपुर र कीर्तनपुर बजार क्षेत्रमा रहेका प्लास्टिक पसलहरुमा अनुगमन गरिएको छ । अनुगमनका क्रममा प्लास्टिकबाट निर्मित कप, गिलास, प्लेट, काँटाजस्ता सामग्रीहरु बरामद गरी नष्ट गरिएको अनुगमन टोली सदस्य सन्तोष सुवेदीले बताउनुभयो । बजार अनुगमनको दायरा बढाउँदै माडीका अन्य बजारहरुमा पनि छड्के चेकजाँच गरिने उहाँको भनाई छ ।
यसअघि, गत जेष्ठ ५ गते नगरपालिकाले वातावरण संरक्षण र नागरिक स्वास्थ्यका लागि जेष्ठ २० गतेपछि नगर नगरक्षेत्रभित्र प्लास्टिकजन्य सामग्रीको बिक्री–वितरण, आयात र भण्डारण कार्य पूर्ण प्रतिबन्धित रहने सूचना गरेको थियो । प्रतिबन्धित सामग्रीको कारोबार भएको पाइएमा कानुन बमोजिम कारबाही गरिने नगरपालिकाको चेतावनी छ ।




