जापानी सहयोगमा बैकुण्ठमा बुद्ध पार्क निर्माण तीव्र

चितवन, २७ जेठ ०८३ — एक जापानी नागरिकको मुख्य सहयोगमा माडी नगरपालिका वडा नं. ८, बैकुण्ठ क्षेत्रमा बुद्ध पार्क (अरण्य बौद्ध विहार) निर्माण जारी रहेको छ । पार्कमा पूर्णकदको भीमकाय बुद्ध मूर्ति तथा बौद्ध स्तूपा निर्माण कार्य तीब्ररुपमा जारी रहेको हो ।

जापानी समाजसेवी तथा तान्वारा मिहो सोसियल वेलफेयर फाउण्डेशनकी प्रमुख मिहो तान्वाराको विशेष पहल र सहयोगमा बुद्ध पार्क निर्माण अगाडि बढिरहेको अरण्य बौद्ध बिहार व्यवस्थापन समितिका अध्यक्ष एवं माडी-८ का पूर्व वडाध्यक्ष कृष्णराज अधिकारीले बताउनुभयो ।

यसबाहेक, हाल भारत नयाँदिल्ली निवासी बलराम आचार्यको सहयोगमा सत्तल निर्माण भएको, वडा नं. ८ कार्यालयले रेलिङ सहितको सिंढी निर्माण गरेको र उपेन्द्र जोशी एवं जोशी परिवारले आकर्षक गेट निर्माण गरेको अध्यक्ष अधिकारीले जनाउनुभयो ।

यस्तै, बिहार व्यवस्थापन समितिका उपाध्यक्ष मोहन आलेमगरले दुईवटा बुद्ध मुर्ती प्रतिस्थापन गरेको, माडीका नगरप्रमुख ताराकुमारी काजी महतोले व्यक्तिगत रुपमा १८ हजार मुल्यको साउण्ड सिस्टम प्रदान गर्नुभएको तथा माडी नगरपालिकाले मोटर जडान गरी पिउने पानीको प्रवन्ध गरेको अधिकारीले बताउनुभयो ।

यसैगरी, स्थानीय अयोध्यापुरी मध्यवर्ती उपभोक्ता समिति, बैकुण्ठे मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूह र अन्य संस्था एवं व्यक्तिहरुले पनि पार्क निर्माणमा निरन्तर सहयोग गरिरहेको जनाउँदै अधिकारीले सहयोगदाता सबैमा धन्यवाद व्यक्त समेत गर्नुभयो ।

बैकुण्ठ मेला लाग्ने चौर नजिकैको डाँडोमा फराकिलो क्षेत्रमा निर्माण सुरू भएको बुद्ध पार्कलाई माडीकै प्रमुखतम् धार्मिक पर्यटन गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य लिइएको छ ।

तपाईको प्रतिक्रिया