चितवन, २८ जेठ ०८३ — माडी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि नौवटै वडामा कुल ९ करोड ७ लाख रुपैयाँ बजेट सिलिङ पठाएको छ । नगर कार्यपालिकाले चालु आर्थिक वर्षको तुलनामा करिब २/२ लाख रुपैयाँ कम हुने गरी वडागत बजेटको सीमा निर्धारण गरेको हो ।
निर्धारित सिलिङ अनुसार वडा नं. १ लाई १ करोड ८ लाख रुपैयाँ, वडा नं. २, ३, ६ र ७ लाई जनही ९८ लाख रुपैयाँ, वडा नं. ४, ५ र ८ लाई जनही ८८ लाख रुपैयाँ तथा हनुमानझुला क्षेत्र समेत समेटिएको वडा नं. ९ लाई १ करोड ४३ लाख रुपैयाँ बजेट सीमा प्रदान गरिएको छ ।
नगरपालिकाले वडाहरूलाई बजेट तर्जुमाका लागि केही अनिवार्य मापदण्डसमेत तोकेको छ । वडाले सडक बत्तीलगायत भुक्तानी गर्नुपर्ने अनिवार्य दायित्वका विषयमा बजेट व्यवस्था गर्नुपर्नेछ । त्यसैगरी वडास्तरीय खेलकुद प्रतियोगिता, संस्कृति तथा झाँकी प्रदर्शन, उत्कृष्ट किसान तथा पशुपालक कृषक छनोट र सम्मानजस्ता आन्तरिक असल अभ्यास प्रवद्र्धन गर्ने कार्यक्रमलाई पनि प्राथमिकतामा राख्नुपर्ने उल्लेख गरिएको छ ।

नगरको निर्देशन अनुसार वडा तहको एक महत्वपूर्ण योजनामा कम्तीमा १५ लाख रुपैयाँभन्दा कम बजेट विनियोजन गर्न पाइने छैन भने टुक्रे योजनामा बजेट छुट्याउन नपाइने व्यवस्था गरिएको छ । कार्यक्रमहरू निश्चित वर्ग वा समुदायमा मात्र सीमित नभई सबै सरोकारवालालाई लाभ पुग्ने खालका हुनुपर्ने, चालु तथा अनुत्पादक खर्च घटाउनुपर्ने र दोहोरो सुविधा हुने गरी भत्ता वा आर्थिक सहायता वितरण गर्न नहुने उल्लेख गरिएको छ ।



