चितवन खबर पोष्ट

भरतपुरमा ऐतिहासिक रक्तदान महोत्सव: स्कुटरदेखि विभिन्न आकर्षक पुरस्कारसहित सहभागी हुन आह्वान

चितवन, २८ जेठ ०८३ — ब्लड डोनर्स सोसाइटी नेपालको आयोजनामा आउँदो जेठ ३० गते शनिवार भरतपुरस्थित चितवन उद्योग संघको सभाहलमा दोश्रो ऐतिहासिक रक्तदान महोत्सव सञ्चालन हुने भएको छ ।

मानव जीवन रक्षाका लागि आवश्यक रगतको अभाव हुन नदिन तथा नयाँ रक्तदाताहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको सोसाइटीले जनाएको हो। कार्यक्रममा सहभागी भई रक्तदान गर्ने दाताहरूका लागि विभिन्न आकर्षक पुरस्कारहरूको व्यवस्था गरिएको जनाइएको छ।

आयोजकका अनुसार गोलाप्रथामार्फत एक जना रक्तदातालाई स्कुटर, दुई जनालाई साइकल प्रदान गरिनेछ। साथै टेलिभिजन, सोफा, कुलर, तीन लाख रुपैयाँ बराबरका मोबाइल, औषधि, साबुन, होटलमा खान–बस्नको विशेष प्याकेज लगायत अन्य उपहारहरू पनि वितरण गरिनेछ।

रक्तदाता दिवसको अवसरमा सोसाइटीले महोत्सव आयोजना गरेको हो । हरेक वर्ष जुन १४ मा अन्तर्राष्ट्रिय रक्तदाता दिवस मनाइन्छ । संस्थाले रक्तदानलाई मानव जीवन बचाउने पुण्य कार्यको रूपमा लिँदै कार्यक्रममा सहभागी हुन तथा अन्यलाई पनि रक्तदानका लागि प्रेरित गर्न सबैमा आग्रह गरेको संस्थाका उपाध्यक्ष मनरूपा पाैडेलले बताउनुभयो । (फाइल फोटो)

तपाईको प्रतिक्रिया