चितवन, २९ जेठ ०८३ — माडी नगरपालिकामा जडीबुटी पार्क (उद्यान) निर्माणको काम सुरु भएको छ । डिभिजन वन कार्यालय चितवनको सहयोगमा माडी नगरपालिका–७ गाैरीनगरमा जडीबुटी पार्क निर्माण थालिएको हो ।
डिभिजन वन कार्यालय चितवनका सूचना अधिकारी देवीप्रसाद पौडेलका अनुसार पार्कमा करिब ३०० वटा जडीबुटीजन्य बिरुवा रोपिनेछ । पार्कमा मौवा, तेजपत्ता, अमला, बेललगायतका उपयोगी जडीबुटी प्रकृतिका बिरुवा समावेश गरिने उहाँले जानकारी दिनुभयो ।
“जडीबुटी पार्कबाट उत्पादित जडीबुटीले आयुर्वेदिक औषधि निर्माणमा सहयोग पुग्नेछ,” पौडेलले भन्नुभयो । उहाँका अनुसार पार्क निर्माणका लागि कार्यालयले दुई लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

पार्कमा तीनदेखि पाँच मिटरको दूरी कायम गरी बिरुवा रोप्ने योजना रहेको छ । रोपिएका बिरुवाको संरक्षणका लागि बाँसबाट बनेको बार लगाउने व्यवस्था गरिएको छ ।
माडी–७ मा रहेको रेवा मध्यवर्ती उपभोक्ता समितिले पार्क निर्माणको जिम्मेवारी लिएको छ । जडीबुटी संरक्षण, उत्पादन र स्थानीयस्तरमा यसको उपयोग प्रवर्द्धन गर्ने उद्देश्यले पार्क निर्माण गर्न लागिएको माडी ७ का वडाध्यक्ष चन्द्रकुमारी बानियाँले बताउनुभयो ।



