चितवन, ०२ असार ०८३ — बागमती प्रदेश सरकारले माडीमा थारुग्राम बस्ती विकास कार्यक्रमका लागि ३ करोड र माडी–७ परुई किनारस्थित चेपाङ बस्तीमा पूर्वाधार निर्माणका लागि ३ करोड रुपैयाँ छुट्याएको छ।
प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले सार्वजनिक गरेको मन्त्रालयगत योजना पुस्तिकामा माडीका थारू र चेपाङहरूको बस्ती विशेष योजना समेटिएको हो । यसबाहेक, नगरभित्र उपयुक्त स्थानमा बस्ती विकासका लागि १ करोड रुपैयाँ पनि विनियोजन गरिएको छ।
त्यसैगरी, अयोध्यापुरी क्षेत्रमा स्थानीय तहसँगको सहकार्यमा पूर्वाधार विकासका लागि ५० लाख र माडी–९ स्थित धनुष उद्यान (अयोध्याधाम) का लागि ६० लाख रुपैयाँ छुट्याइएको छ। एक छुट्टै योजनामा माडी–६ स्थित पुष्पमदन बाटिका पूर्वाधार निर्माणका लागि थप १० लाख रुपैयाँ छुट्याइएको छ।

यसबाहेक, माडी आँखा उपचार केन्द्र भवनमा तला थप तथा कम्पाउण्ड विस्तारका लागि ४० लाख, पुष्पमदन बाटिका पार्क तथा जडिबुटी पार्क पूर्वाधारका लागि ३० लाख, दुरा सेवा समाज पूर्वाधार (माडी–९) का लागि २० लाख र कर्णबहादुर घर्ती स्मृति प्रतिष्ठानमा अधुरो गेट तथा चमेना गृह निर्माणका लागि २० लाख रुपैयाँ पनि विनियोजन गरिएको छ।



