माडी (स्थानीय) खबर पोष्ट

माडीका सिंचाई र खानेपानी आयोजनामा २ करोडभन्दा बढी बजेट विनियोजन

चितवन, ०२ असार ०८३ — बागमती प्रदेश सरकारले माडीको “मगुई सिंचाई आयोजना”का लागि १ करोड ५० लाख रुपैयाँ विनियोजन गरेको छ । प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले हालै प्रकाशित गरेको आर्थिक बर्ष २०८३/८४ को कार्यक्रम विवरणमा सो बजेट उल्लेख रहेको हो ।

यसैगरी, सिंचाइ योजना अन्तर्गत नै माडी–९ मा प्याउली कुना सिंचाई योजनाका लागि ५० लाख, माडी–७ मा माथिल्लो परुई सिंचाई योजनाका लागि ५० लाख र बगहीं क्षेत्रमा माथिल्लो रिउखोला सिंचाई आयोजनाका लागि २० लाख रुपैयाँ छुट्याइएको छ। यस्तै, माडी–४ मा खैरहनी डिप ट्युबवेल र माडी–७ मा पौरबी ट्युबवेल डिप बोरिङका लागि समान रूपमा ६०–६० लाख रुपैयाँ विनियोजन गरिएको छ।

त्यसैगरी, जगन्नाथपुरी (माडी–७) मा ४० लाख, नारायण जल ड्रिल बोरिङ (माडी–६) मा २५ लाख, देउजर खोला कुलो निर्माण (माडी–१) र पर्साफाँट बाँध तथा कुलो लाइनिङ (माडी–२) मा १०–१० लाख रुपैयाँ छुट्याइएको छ।

खानेपानीतर्फ पनि माडी–५ को छरछरे खानेपानी आयोजना (६० लाख), माडी–८ को खरकट्टा शिवद्वार आयोजना (५० लाख), सोमेश्वरगढी खानेपानी (१५ लाख) र माडी–१ मा बाहुनीखोला टंकी निर्माण (१० लाख) समेटिएको देखिएको छ।

तपाईको प्रतिक्रिया