धर्म-संस्कृति पोष्ट

सोमेश्वरगढी केन्द्रित गर्दै माडीको पर्यटन विकासमा उल्लेख्य बजेट विनियोजन

चितवन, ०२ असार ०८३ — बागमती प्रदेश सरकारले सोमेश्वरगढी क्षेत्रको विकासलाई प्राथमिकतामा राख्दै माडीको पर्यटन विकासका लागि उल्लेखनीय बजेट विनियोजन गरेको छ।

प्रदेश सरकारद्वारा सार्वजनिक योजनाअनुसार उद्योग, वाणिज्य तथा पर्यटन कार्यालय मकवानपुरबाट कार्यान्वयन हुनेगरी सोमेश्वरगढी मन्दिर तथा मूर्ति निर्माण र आवश्यक सामग्री खरिदका लागि १० लाख रुपैयाँ छुट्याइएको छ। यससँगै, क्षेत्रको समग्र पूर्वाधार विकासका लागि ४५ लाख र सोमेश्वरगढीस्थित सामुदायिक भवनमा फर्निचर, कार्पेटिङ तथा मूर्ति खरिदका लागि थप २० लाख रुपैयाँ छुट्याइएको छ।

त्यसैगरी, माडी–७ मा दक्षिण सोमेश्वर कालिका मन्दिरको निर्माण सम्पन्न गर्न तथा अष्टचीरञ्जीवि पार्क निर्माणका लागि १० लाख, चेपाङ संग्रहालय निर्माणका लागि १० लाख र खरिकुना पार्क निर्माणका लागि १० लाख रुपैयाँ छुट्याइएको छ। सोही वडामा त्रिवेणीधाम बराह मन्दिर तथा ताल संरक्षणका लागि १५ लाख रुपैयाँ विनियोजन गरिएको छ।

माडी–१ मा इको भिलेज पर्यटन आवास तथा पूर्वाधार निर्माण, बौद्ध गुम्बा पूर्वाधार, नेवा समाज गुठी तथा बोटे सांस्कृतिक भवन निर्माणका लागि क्रमशः १०–१० लाख रुपैयाँ छुट्याइएको छ। यस्तै, माडी–६ मा म्लेक्यु क्होइबो तमु समाज भवन तथा मणि छेलिङ बौद्ध गुम्बा भवन निर्माणका लागि कुल ३५ लाख रुपैयाँ विनियोजन गरिएको छ।

माडी–८ को इन्द्रबस्तीमा सामुदायिक भवन निर्माणका लागि १५ लाख र माडी–२ मा शहीद पार्क मूर्ति तथा भौतिक पूर्वाधार निर्माणका लागि १० लाख रुपैयाँ छुट्याइएको छ। साथै, माडी–९ मा चेपाङ संग्रहालय तथा आवास निर्माणका लागि २० लाख रुपैयाँ विनियोजन गरिएको छ।

तपाईको प्रतिक्रिया