चितवन, ०४ असार ०८३ — तेस्रो बागमती प्रदेशस्तरीय बृहत् खेलकुद प्रतियोगितामा माडीका खेलाडी ललित राउतले २ वटा स्वर्णपदक जित्नुभएको छ । माडी–६, कल्याणपुर निवासी एथलेटिक्स खेलाडी एवं कल्याणपुर युवा क्लबका अध्यक्ष समेत रहनुभएका राउतले सर्टपुट थ्रो र डिस्कस थ्रो खेलमा स्वर्णपदक (प्रथम स्थान) जित्नुभएको हो ।
युवा तथा खेलकुद मन्त्रालय अन्तर्गतको प्रदेश खेलकुद विकास परिषद्को आयोजनामा गत असार ३ गतेबाट हेटौंडास्थि पिप्ले–क्याम्पा रंगशालामा सञ्चालन सुरु भएको एथलेटिक्सका खेलहरुमा माडीका खेलाडीहरुको सहभागिता रहेको छ ।
प्रतियोगितामा बागमती प्रदेशका १३ वटै जिल्लाबाट २ हजार ९ सय ५५ खेलाडी र एक हजार २ सय ६ अफिसियल गरी चार हजार १ सय ६१ जना सहभागी रहेको आयोजकले जनाएको छ । प्रतियोगिता सञ्चालनका लागि १३ करोड २० लाख रुपैयाँ विनियोजन भएको सदस्य–सचिव दीपक लामाले बताउनुभयो ।




