चितवन, ०६ असार ०८३ — मोटरसाइकल पर्यटन, कृषि प्रवद्र्धन र सामाजिक सेवाको उद्देश्यसहित सञ्चालन भइरहेको ‘द हिमालयन मोटरसाइकल एक्सपिरियन्स (THME)’ को ‘९औँ म्याङ्गो राइड २०२६’ टोलीलाई माडीमा स्वागत गरिएको छ ।
चार दिने यात्राअन्तर्गत काठमाडौं हुँदै चितवन प्रवेश गरेको राइड टोली माडी क्षेत्र पुगेको हो । महोत्तरीको बर्दिबाससम्म पुग्ने सो टोलीलाई माडीको बरुवास्थित बुद्धचोकमा नगर उपप्रमुख खेमप्रसाद महतो र वडाध्यक्ष अमित कुमार लामा सहित बरुवा बजारबासीहरुले स्वागत सत्कार गरेका थिए ।
तराईका स्वदेशी तथा अर्गानिक आँपको प्रवद्र्धन गर्ने उद्देश्यले सन् २०१५ देखि निरन्तर सञ्चालन हुँदै आएको यस अभियानमा सहभागी राइडरहरूले विभिन्न स्थानका आँप बगैँचाको अवलोकन, स्थानीय उत्पादनसँगको प्रत्यक्ष अनुभव र पर्यटकीय क्षेत्रको भ्रमण गरिरहेका छन् ।

राइडमा रोयल इन्फिल्ड नेपाल मुख्य प्रायोजक तथा नेपाल पर्यटन बोर्ड ट्राभल पार्टनरका रूपमा सहभागी छन् । ‘म्याङ्गो राइड’ सन् २०१५ मा चार जना राइडरबाट सुरु भएको थियो । हाल यो देशभरका मोटरसाइकल यात्राप्रेमीहरूको वार्षिक आकर्षणका रूपमा विकास भएको छ ।



