चितवन, ०७ असार ०८३ — माडीको बसन्तपुरस्थित एम.जी. मार्टमा चोरी गरेका ६ मध्ये ५ जना बालकहरुलाई प्रहरीले फेला पारेको छ । अर्का बालकको पनि पहिचान भइसकेको जनाउँदै प्रहरीले सबैलाई इलाका प्रहरी कार्यालयमा ल्याएको जनाएको छ ।
उनीहरुमध्ये २ जना १२ बर्षका, ३ जना १३ बर्षका र १ जना १४ बर्षका रहेका छन् । उनीहरु सबैजना बरुवास्थित सोमेश्वर माध्यमिक विद्यालयमा कक्षा ४ देखि ८ सम्म अध्ययन गर्ने र माडी-१ लक्ष्मुनियाँ गाउँ निवासी छिमेकीहरु रहेको खुलेको छ ।
उनीहरु रातको करीब १२ बजे मार्टको दोश्रो तल्लाको झ्यालबाट प्रवेश गरी कपडा, झोला, सुटकेश, खानेकुरा, वाइन (रक्सी), आइसक्रिम लगायतका सामानहरु चो*री गरेको सिसिटिभी फुटेजमा देखिएको थियो ।

फुटबल खेल्ने भन्दै समुहमा रहने उनीहरुको जक्सन भने माडी-२, पौहारीस्थित शिवको मुर्ती (निर्माणाधीन होटल ट्वन्टीवान परिसर) रहेको पनि खुलेको छ । प्रहरीले बालकका अभिभावकहरुलाई समेत झिकाई जिम्मेवार बनाउने प्रयास गरेको देखिएको छ ।



