चितवन खबर पोष्ट

रास्वपा महाधिवेशनमा सहभागी हुन प्रधानमन्त्री बालेन शाह चितवन आइपुगे

चितवन, ०७ असार ०८३ — प्रधानमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र (बालेन) शाह पार्टीको प्रथम महाधिवेशनमा सहभागी हुन आज चितवन आइपुग्नुभएको छ।

प्रधानमन्त्री शाह छोरीलाई काखमा बोकेर काठमाडौंबाट बुद्ध एयरको जहाजमार्फत भरतपुर विमानस्थलमा अवतरण गर्नुभएको हो। विमानस्थलबाट बाहिरिँदै गर्दा उहाँले छोरी बोकेको दृश्य देखिएको थियो। उहाँसँगै उहाँकी पत्नी सविना काफ्ले पनि चितवन आउनुभएको छ।

रास्वपाको प्रथम महाधिवेशन आज दिउँसो भरतपुर महानगरपालिका–१० स्थित गेस्टहाउस चौरमा सुरु हुँदैछ। महाधिवेशनको उद्घाटन पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री तथा वरिष्ठ नेता बालेन शाहले संयुक्त रूपमा गर्ने कार्यक्रम रहेको पार्टी महामन्त्री भूपदेव शाहले जानकारी दिनुभयो।

उद्घाटन कार्यक्रम दिउँसो २ बजे सुरु हुने भए पनि बिहानैदेखि महाधिवेशन स्थलमा देशभरबाट आएका पार्टीका नेता, कार्यकर्ता तथा समर्थकहरूको बाक्लो उपस्थिति देखिएको छ। यसअघि, गृहमन्त्री सुधन गुरुङले महाधिवेशन स्थलको निरीक्षण गरी सुरक्षा व्यवस्था तथा व्यवस्थापन पक्षलाई प्रभावकारी बनाउन निर्देशन दिनुभएको थियो ।

तपाईको प्रतिक्रिया