चितवन खबर पोष्ट

सम्पत्ति शुद्धीकरण मुद्दामा एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ

चितवन, ०८ असार ०८३ — नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई सम्पत्ति शुद्धीकरण विभागले पक्राउ गरेको छ । विभाग स्रोतका अनुसार पौडेललाई सेयर कारोबार र सम्पत्तिको शंकास्पद स्रोतसम्बन्धी अनुसन्धानका क्रममा नियन्त्रणमा लिइएको हो ।

पौडेललाई सोमबार सुर्खेतमा आयोजित पार्टी कार्यक्रमस्थलबाटै पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ । उनलाई थप अनुसन्धानका लागि काठमाडौं ल्याउने तयारी भइरहेको बताइएको छ ।

पौडेल पक्राउ गर्नुअघि विभागको टोलीले ललितपुरको भैंसेपाटीस्थित उनको निवासमा छापा मारेको थियो । छापाका क्रममा केही कागजात नियन्त्रणमा लिइएको विभागसम्बद्ध स्रोतले जनाएको छ ।

एमालेले हाल देशभरका प्रदेशमा पार्टी पुनर्गठनका लागि सुझाव संकलन कार्यक्रम सञ्चालन गरिरहेको छ । सोही क्रममा पौडेल सुर्खेत पुगेका बेला विभागको टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।

यसैबीच, एमाले सचिव महेश बस्नेतले पौडेल पक्राउको विरोध गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत कानुनी राज्यमा तथ्य र प्रमाणको निष्पक्ष परीक्षणपछि मात्र कानुनी प्रक्रिया अघि बढ्नुपर्ने बताएका छन् ।

बस्नेतले फरक राजनीतिक विचार राख्ने नेतृत्वमाथि प्रतिशोधको भावनाले प्रेरित भएर गिरफ्तारी गर्नु उचित नभएको उल्लेख गर्दै कुनै पनि कानुनी कारबाही निष्पक्षता, विधिको शासन र लोकतान्त्रिक मूल्य–मान्यताअनुसार हुनुपर्ने बताएका छन् ।

तपाईको प्रतिक्रिया