माडी (स्थानीय) खबर पोष्ट

माडी बजेटअघि रास्वपाको चेतावनी: स्रोतविहीन योजना नघोषणा गर्न आग्रह

चितवन, १० असार ०८३ — माडी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट ल्याउने तयारी गरिरहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) माडी नगर समितिले स्थानीय सरकारलाई वित्तीय अनुशासन कायम गर्न र आगामी सरकारलाई अनावश्यक आर्थिक दायित्वको भार नथप्न सचेत बनाएको छ।

रास्वपा नगर सभापति नारायणदत्त रिजालले माडीका नगरप्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतलाई बुधबार बिहान बुझाउनुभएको ध्यानाकर्षण पत्रमा वर्तमान कार्यकालको अन्त्यतिर लोकप्रियताका लागि स्रोत सुनिश्चित नभएका बहुवर्षीय योजना घोषणा नगर्न विशेष जोड दिइएको हो।

यस्तो कार्यले आगामी नेतृत्वलाई आर्थिक संकटमा पार्न सक्ने भन्दै रास्वपाले जिम्मेवार बजेट निर्माणको माग गरेको छ। त्यसैगरी, माडीको अर्थतन्त्रको मुख्य आधार कृषि, पर्यटन र पर्यावरण भएको उल्लेख गर्दै पार्टीले उत्पादनमूलक, रोजगारी सिर्जना गर्ने तथा दिगो पूर्वाधार विकासमा केन्द्रित बजेट विनियोजन गर्न आग्रह गरिएको छ।

ध्यानाकर्षण पत्रमा बजेट विनियोजन गर्दा पारदर्शिता र समानुपातिकताको आवश्यकता औंल्याउँदै अधुरा रहेका पुराना योजनालाई प्राथमिकताका साथ सम्पन्न गर्नुपर्नेमा जोड दिएको छ। “आम्दानी अनुसारको खर्च” को सिद्धान्तलाई कडाइका साथ लागू गर्नुपर्ने पार्टीको धारणा छ।

तपाईको प्रतिक्रिया

ताजा समाचार