चितवन, १० असार ०८३ — माडी नगरपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि ‘कृषि विकास’ क्षेत्रअन्तर्गत बाँझो जमिनको उपयोग गर्दै युवा तथा विपन्न किसानलाई व्यावसायिक खेतीमा आकर्षित गर्ने भएको छ।
नगर प्रमुख ताराकुमारी काजी महतोले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा सो बुँदा समेटिएको हो । यसबाहेक, कृषक पहिचान र तथ्याङ्क व्यवस्थापनमार्फत तथ्यमा आधारित योजना निर्माण गरिने, आधुनिक कृषि यन्त्र उपकरणको प्रयोग विस्तार गर्दै उत्पादन लागत घटाउने र उत्पादकत्व बढाउने लक्ष्य लिइएको छ।
नीति तथा कार्यक्रममा सिँचाइ पूर्वाधार विकासलाई निरन्तरता दिँदै कृषि उत्पादनको आधार सुदृढ गरिनेछ साथै साना किसान, कृषक समूह र सहकारीको क्षमता विकासमा जोड दिइने पनि उल्लेख छ।

यसैगरी, स्थानीय रैथाने बाली संरक्षण तथा प्राङ्गारिक खेती प्रवर्द्धन गर्दै जलवायुमैत्री कृषि प्रविधि प्रयोगलाई प्रोत्साहन गरिनेछ। कृषि उपजको संकलनदेखि प्रशोधन, प्याकेजिङ, ब्रान्डिङ र बजारीकरणका लागि आवश्यक पूर्वाधार विकास गरिने नीति लिइएको छ



