माडी (स्थानीय) खबर पोष्ट

माडीको पूर्वाधार नीति: ‘एक टोल, एक रङ्गको घर’ अवधारणा र ठूला दीर्घकालीन योजनामा प्राथमिकता

चितवन, १० असार ०८३ — माडी नगरपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि ‘पूर्वाधार विकास’ क्षेत्रअन्तर्गत थारु समुदायको मौलिकता झल्किने घरहरूको संरक्षण र प्रवर्द्धन गर्न प्रोत्साहन एवं “एक टोल, एक रङ्गको घर निर्माण” अवधारणालाई अघि सार्दै नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।

नगर प्रमुख ताराकुमारी काजी महतोले प्रस्तुत गरेको कार्यक्रममा GIS आधारित यातायात गुरुयोजना अनुसार नालासहित सडक विस्तार, रिउ करिडोर र माडी चक्रपथ जस्ता ठूला योजनामा जोड दिइएको छ। विस्तृत परियोजना प्रतिवेदन (DPR) लाई अनिवार्य बनाउँदै गुणस्तरीय निर्माणमा ध्यान दिइनेछ।

उपभोक्ता समितिको १० प्रतिशत लागत सहभागिता, समयमै योजना सम्झौता र सम्पन्न गर्ने व्यवस्था तथा अनुगमन प्रणालीलाई सुदृढ बनाइने उल्लेख छ। टुक्रे योजनालाई निरुत्साहित गर्दै ठूला र दीर्घकालीन योजनालाई प्राथमिकता दिइनेछ।

सार्वजनिक भवन, सडक, सिँचाइ तथा आवास निर्माणलाई व्यवस्थित बनाउनुका साथै अपाङ्गतामैत्री, बालमैत्री र ज्येष्ठ नागरिकमैत्री संरचना निर्माण गरिने नीति लिइएको छ। भूमिहीन तथा सुकुम्बासी व्यवस्थापन, सिँचाइ पूर्वाधार विकास र नदीजन्य स्रोतको व्यवस्थापनमा पनि जोड दिइएको छ।

त्यसैगरी, निर्माण कार्यमा पारदर्शिता कायम गर्न सूचना बोर्ड अनिवार्य गरिनेछ भने मर्मतसम्भार कोष स्थापना गरिनेछ। ५ लाखभन्दा माथिका आयोजनामा फलफूलका बिरुवा रोप्न प्रोत्साहन गरिनेछ।

तपाईको प्रतिक्रिया

ताजा समाचार