चितवन खबर पोष्ट

माडीका पर्यटकीय तथा धार्मिक स्थलमा नयाँ प्रवेश शुल्क लागू हुने

चितवन, १५ असार ०८३ — माडी नगरपालिकाले नगर क्षेत्रका प्रमुख पर्यटकीय स्थलहरुमा अवलोकन भ्रमणका लागि प्रवेश गर्दा लाग्ने पर्यटन शुल्क वा सरसफाई शुल्क समायोजन गरेको छ । आउँदो आर्थिक बर्ष २०८३/८४ मा कार्यान्वयन सुरू हुनेगरी समायोजित नयाँ शुल्क दरलाई नगरपालिकाको अठारौं नगरसभाले सर्बसम्मत पारित गरेको हो ।

योसंगै अब स्थानीय धार्मिक स्थलहरुमा माडीबासी सहित सबै नेपालीहरुलाई (पर्यटन वा सरसफाई) शुल्क २० रुपैंया हुने भएको छ । यस्तै सबै स्थानहरुमा भारतीय नागरिकहरुका लागि ५० रुपैंया र अन्य विदेशीहरुका लागि १०० रुपैंया कायम हुने भएको छ ।

नयाँ व्यवस्था अनुसार सोमेश्वरगढीमा अन्य विदेशी नागरिकलाई रु.१००, भारतीय नागरिकलाई रु.५० र नेपाली नागरिकहरुलाई रु.२० कायम हुनेछ । यसअघि अन्य विदेशी नागरिकहरुलाई रु.१००, भारतीय नागरिकहरुलाई रु.८० (भारु ५०), स्वदेशी नागरिकहरुलाई रु.५० र माडीबासीहरुलाई (परिचय खुल्ने कागजका आधारमा) रु.१० शुल्क रहेको थियो । चैतेदशैंभन्दा ९ दिन अगाडिदेखि चैतेदशैंका दिनसम्म भने प्रवेश निःशुल्क रहनेछ ।

यसैगरी, पुष्पमदन बाटिकामा पर्यटन शुल्क अन्य विदेशी नागरिकहरुका लागि रु.१००, भारतीयहरुका लागि रु.५० र नेपालीहरुका लागि रु.२० कायम हुने भएको छ । यसअघि सो स्थलमा प्रवेशका लागि सबै विदेशी नागरिकहरुलाई रु.५०, स्वदेशी नागरिकहरुलाई रु.२५ र स्थानीयबासीहरुलाई रु.१० को टिकट लागु गरिएको थियो ।

यस्तै, रेडहिल पार्क प्रवेशका लागि अन्य विदेशी नागरिकहरुलाई रु.१००, भारतीयहरुलाई रु.५० र नेपालीहरुलाई रु.२० कायम हुने भएको छ । यसअघि सो पार्क प्रवेशका लागि विदेशी नागरिकहरुलाई रु.५०, स्वदेशीलाई रु.२५ र स्थानीयलाई रु.१० प्रवेश शुल्क लागु रहेको थियो ।

यसैगरी, यसैगरी, बैकुण्ठ धाम क्षेत्र प्रवेशका लागि अन्य विदेशीहरुलाई रु.१००, भारतीयहरुलाई रु.५०, स्वदेशीलाई २० तोकिएको छ । यसअघि यो शुल्क क्रमशः रु.१००, रु.८० र रु. ५० थियो भने स्थानीयलाई रु.१० तोकिएको थियो ।

यसबाहेक, बाल्मीकि आश्रम क्षेत्रमा अन्य विदेशी नागरिकलाई रु.१००, भारतीयहरुलाई रु.५० र नेपालीहरुलाई रु.२० सरसफाई शुल्क तोकिएको छ । यसअघि सो शुल्क अन्य विदेशी नागरिकलाई रु.५०, भारतीयहरुलाई रु.१६ (भारु. १०), नेपालीहरुलाई रु.१० र स्थानीयलाई रु.५ रहेको थियो ।

अयोध्याधाम (राम मन्दिर क्षेत्र)मा सरसफाई शुल्क अन्य विदेशीलाई रु.१००, भारतीय नागरिकहरुलाई रु. ४० र स्वदेशीलाई रु.२० तोकिएको छ । यसअघि त्यहाँ अन्य विदेशीलाई रु.५०, स्वदेशीलाई रु.२५ र स्थानीयलाई रु.१० प्रवेश शुल्क तोकिएको थियो ।

पर्यटकीय स्थलमा बनभोज गर्दा २० जनासम्मको रु.३००, ४० जनासम्मको रु.५०० तथा ४० बढीका लागि रु.१ हजार शुल्क यथावतै राखिएको छ । यस्तै सुटिङ (छायाँकन) गर्दा प्रतिदिन रु.१० हजार शुल्क पनि यथावत नै रहेको छ । यसअघि, मन्दिर र धार्मिक स्थलहरुमा प्रवेश शुल्क लगाएको भन्दै नगरपालिकाको चर्को आलोचना भएको थियो ।

तपाईको प्रतिक्रिया