चितवन, १५ असार ०८३ — “जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि” भन्ने नाराका साथ माडी नगरपालिका कृषि विकास शाखाको आयोजनामा २३औं राष्ट्रिय धान दिवस तथा रोपाइँ उत्सव (असार १५) मनाइएको छ ।
माडी नगरपालिका–६, लक्ष्मीबास (रुद्रचोक)मा सम्पन्न सो उत्सवका क्रममा सामूहिक धान रोपाइँ, हिलोमा डोरी तान्ने प्रतियोगिता, हिले दौड प्रतियोगिता तथा दही-चिउरा खाने कार्यक्रम सञ्चालन भएको हो ।
हिले दौडमा पार्वती पौडेल प्रथम, निशा कानुमगर दोश्रो तथा सीता पोख्रेल तेश्रो हुन सफल हुनुभयो । त्यस्तै हिले डारी तान्ने प्रतियोगितामा कर्मचारीहरुको टोलीलाई स्थानीय टोल विकास संस्था (हरि पोखरेलको टीम)ले पराजित गरेको थियो ।

उत्सवमा माडीका नगरप्रमुख ताराकाजी महतो, प्रमुख प्रशासकीय अधिकृत जगत भुसाल, वडाध्यक्ष दीपेन्द्रराज पौडेल, पशु सेवा शाखाका डा. सन्तोष क्षेत्री, सुचना प्रविधि अधिकृत प्रवीण भण्डारी, कृषि शाखा प्रमुख सुरेश सिंखडा, कृषि प्राविधिक अनिल बस्याल लगायतको सहभागिता रहेको थियो ।
नेपालमा प्रत्येक वर्ष असार १५ गते ’राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव’ मनाइन्छ। धानबालीमा उत्पादन वृद्धि र खाद्य सुरक्षाको महत्त्वलाई आत्मसात गर्दै वि.सं. २०६१ देखि यो दिवस मनाउन सुरु गरिएको हो। यस दिन खेतमा काम गरेर ’दही-च्यूरा’ खाने परम्परा रहेको छ।



