चितवन, १८ असार ०८३ — इन्धनको मुल्य बढेको भन्ने ट्रयाक्टर व्यवसायीहरुको मागदाबी अनुसार नै भाडा बढाइदिएको माडी नगरपालिकाले इन्धनको भाउ घटेसंगै भाडा घटाउँछ वा घटाउँदैन, चासो बढेको छ ।
गत असार ९ गते एक सूचना प्रकाशन गरी नगरपालिकाको साविकको मुल्यमा ३३ प्रतिशतसम्म बढोत्तरी गरेको थियो । ट्रयाक्टर व्यवसायीहरुले इन्धनको मुल्य बढेको भन्दै भाडा बढाउन दिएको दबाब अनुसार नगर उपप्रमुख खेमप्रसाद महतो नेतृत्वको भाडादर निर्धारण कार्यदलले सो निर्णय गरेको हो ।
तर सरकारले हालै डिजल र पेट्रोलमा प्रतिलिटर २० एवं मट्टीतेलमा प्रतिलिटर ३० रुपैंया मुल्य घटाई समायोजन गरेको अवस्था छ ।

हाल किसानहरु धान रोपाईंको सर्बाधिक चटारोमा रहने समय हो । मुख्यत खेत जोत्ने समय पनि यही समय नै हो । यस्तोमा, नगरपालिकाले समय छँदै र किसानहरुले रोपाईं नसक्दै भाडा घटाउने निर्णय गर्छ वा कृषि यन्त्र व्यवसायीहरुको स्वार्थ अनुसार धान रोपाईं सकिँदासम्म कुरेर ढिला गर्छ, हेर्न बाँकी छ ।
हाल नगरपालिकाले कल्टी वा हाइरोले जोत्दा तथा थ्रेसर प्रयोग गर्दा प्रतिघण्टा २ हजार ४ सय रुपैयाँ कायम गरिदिएको छ, जुन साविकको दरभन्दा करिब ३३ प्रतिशत बढी हो । त्यस्तै, रोटाभेटरले जोत्दा २ हजार ७ सय रुपैयाँ पुर्याएको छ जुन साविकको मूल्यभन्दा करिब २९ प्रतिशत बढी हो ।
कृषि यन्त्रको दरभाउ बढाएपनि किसानहरु भने कृषि यन्त्र र ज्याला महंगिएको तर उत्पादनको न्यूनतम् समर्थन मुल्य पनि नपाउने गरेको दोहोरो मारमा रहेका छन् ।



