चितवन, १५ भाद्र २०८३ — रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि माडी–७, बाबियोडाँडास्थित ‘बाबियो डाँडा आमा समूह’ले २५ हजार रुपैयाँ सहयोग गरेको छ।
समूहले तीजको दर खाने कार्यक्रमका लागि छुट्याइएको खर्चमा कटौती गरी उक्त रकम बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि प्रदान गरेको हो। आफ्ना लागि गरिने खर्च केही घटाएर विपदमा परेका नागरिकलाई सहयोग गर्ने उद्देश्यले समूहका सदस्यहरूले रकम जुटाएका हुन्।
विपद्को समयमा सहयोग सानो-ठूलोभन्दा पनि मानवीय भावना महत्वपूर्ण हुने भन्दै समूहले पीडित परिवारलाई केही भए पनि राहत पुगोस् भन्ने उद्देश्यले सहयोग गरिएको जनाएको छ।
समूहले विपद्को समयमा सबैले आ-आफ्नो क्षमता र सामर्थ्यअनुसार सहयोग गर्नुपर्नेमा जोड दिएको छ। तीजको उत्सवमा हुने खर्चलाई मानवीय सेवामा लगाउने बाबियो डाँडा आमा समूहको यो पहलले सामाजिक उत्तरदायित्व र विपद्का बेला सामूहिक सहयोगको सकारात्मक सन्देश दिएको छ।








