चितवन, २० असार ०८३ — मनसुन सक्रिय भएसँगै माडी नगरका किसानहरू धान रोपाइँमा ब्यस्त भएका छन् । बर्षाको पानी र खेतमा पुगेका सिंचाइ प्रवन्धका कारण (अन्य छिमेकी पालिकाहरूमा झैं) माडी नगरमा समेत किसानहरू यतिखेर खेतमा धान रोप्न व्यस्त भएका हुन् ।
माडी नगरपालिकामा यस वर्ष करिब ६ हजार ५० हेक्टर क्षेत्रफलमा वर्षे धान खेती हुने लक्ष्य राखिएको छ । हालसम्म करिब १७ प्रतिशत क्षेत्रमा धान रोपाइँ सम्पन्न भएको नगरपालिकाको कृषि शाखाले जनाएको छ ।
नगरपालिकाका कृषि शाखा प्रमुख सुरेश सिंखडाका अनुसार वडा नम्बर १, २ र ३ मा धान रोपाइँ तुलनात्मक रूपमा बढी भएको छ । अन्य वडामा पनि सिँचाइको उपलब्धता र मौसमअनुसार किसानले रोपाइँलाई तीव्रता दिइरहेका छन् ।

“हालसम्म करिब १७ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । मौसम अनुकूल रहेमा आगामी केही दिनमा रोपाइँको गति अझ बढ्ने अपेक्षा गरेका छौँ,” सिंखडाले बताउनुभयो ।
यता, धान रोपाइँको मुख्य समयमा रासायनिक मलको अभाव भने कायम रहेको छ । कृषि शाखाका अनुसार हालसम्म ११५ टन युरिया मलको एक लट वितरण गरिसकिएको छ । तर किसानले आवश्यकता अनुसार मल नपाएका कारण समस्या झेलिरहेका छन् ।
सिंखडाका अनुसार पछिल्ला वर्षहरूमा किसानमा मल स्टोर गरेर राख्ने बानी विकास भएकाले बजारमा मल पुगे पनि छिट्टै सकिने अवस्था रहेको छ । “अहिले मलको अभाव नै छ । अर्को लट डीएपी मल आउने अपेक्षा त छ, तर कहिले आउँछ भन्ने निश्चित छैन,” उनले बताए
अन्य पालिकाको तुलनामा माडीमा मलको आपूर्ति केही सहज रहेको उहाँको भनाइ छ । धान रोपाइँको व्यस्त समयमा मल अभाव चुनौती बने पनि किसानले उपलब्ध स्रोतसाधनकै भरमा रोपाइँलाई निरन्तरता दिइरहेका छन् ।



